मेलमिलाप नीतिको सान्दर्भिकता
रामचन्द्र पोखरेल
प्रजातान्त्रिक आन्दोलन र संघर्षहरूलाई एकाएक रोकी ‘राष्ट्रिय मेलमिलापको नीति’ लिएर स्वदेश फर्कने बीपी कोइरालाको निर्णयले धेरैलाई आश्चर्यमा पारेको थियो । सारनाथ (बनारस) मा एक बिहान सधैंझैं पारिवारिक चियापानमा बीपीले जब स्वदेश फर्कने कुरा सुनाउनुभयो, गिरिजाबाबु किंकर्तव्यविमूढ हुनुभयो ।
प्रजातान्त्रिक आन्दोलन र संघर्षहरूलाई एकाएक रोकी ‘राष्ट्रिय मेलमिलापको नीति’ लिएर स्वदेश फर्कने बीपी कोइरालाको निर्णयले धेरैलाई आश्चर्यमा पारेको थियो । सारनाथ (बनारस) मा एक बिहान सधैंझैं पारिवारिक चियापानमा बीपीले जब स्वदेश फर्कने कुरा सुनाउनुभयो, गिरिजाबाबु किंकर्तव्यविमूढ हुनुभयो ।
बीपीसँगै भारत निर्वासनमा रहेका गणेशमान सिंहले पनि अचम्मित हुँदै त्यस्तो कदम आत्महत्यासरह हुने बताउनुभयो । बीपीका शुभेच्छुक भारतीय नेताहरू, विशेष गरी जयप्रकाश नारायण (जेपी) पनि निकै चिन्तित बन्नुभयो । देशभरिका कार्यकर्ता एवं शुभचिन्तकहरूसमेत गम्भीर चिन्तामा थिए । यसको कारण थियो— बीपीविरुद्ध फाँसीसम्म हुन सक्ने राष्ट्रद्रोहका मुद्दाहरू ।
Source: internet
अन्तत: गणेशमान सिंहसहितलाई लिएर २०३३ पुस १६ को ठिहीलाई चिर्दै बीपी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुभयो, जहाँ उहाँको स्वागतार्थ उल्लेख्य कार्यकर्ता एवं शुभेच्छुकहरू पुगेका थिए, जसलाई चरम अभद्र व्यवहार गरियो । महिलाहरूलाई समेत अपमानित गर्न छाडिएन । उग्रपञ्च र सरकारको नियोजित घटना थियो यो । बीपीलाई विमानस्थलबाट सोझै सुन्दरीजलको सैनिक जेल लगियो, जहाँ उहाँले सत्र सालको काण्डपछि आठवर्षे बन्दी जीवन बिताइसक्नुभएको थियो ।
राष्ट्रिय मेलमिलापको नीतिप्रति अनेक अफवाह फैलाइए । कतिपयले ‘राजासमक्ष आत्मसमर्पण’ भने । यस्तो भन्नेमध्ये अधिकांश वामपन्थी थिए । कतिपयले भारतमा इन्दिरा गान्धीले इमर्जेन्सी लगाएपछिको बाध्यात्मक परिस्थितिको उपज ठाने । पञ्चहरूको एउटा समूहले त बीपीलाई ‘फाँसी दिनुपर्छ’ भनी पञ्च भेलाबाट प्रस्ताव नै पारित गरेको थियो ।
स्वदेश फर्किनुअघि बीपीले राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण र मूल्यांकन गर्नुभएको थियो । बीपीकै शब्दमा, ‘...हामीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको सूक्ष्म विश्लेषण गर्यौं ।’ उहाँको विश्लेषणमा, २०१७ पुस १ को राजाको कदम प्रजातन्त्रको हत्या मात्र थिएन, त्यसले स्वेच्छाचारी शासक मात्रै जन्माएन, अपितु ‘यहाँको राजनीतिमा सक्रिय भूमिका खेल्न’ विदेशीहरूलाई बडो ठूलो अवसर दियो । उहाँको विवेचनामा, तर राजालाई त्यतिखेर (प्रजातन्त्रले) आफ्नो स्वेच्छाचारितामा बाधा परेको मात्र लागेको थियो । प्रजातन्त्रले आफूलाई भन्दा पनि ठूलो बाधा विदेशी तत्त्वहरूलाई पारेको थियो भन्ने राजाले बुझेनन् ।
बीपी दक्षिण एसिया ‘अशान्त क्षेत्र’ बन्दै गएको निष्कर्षमा पुग्नुभएको थियो । त्यतिखेर उहाँको विश्लेषणप्रति प्राय: सहमत देखिन्थेनन् । उहाँको विचारमा, राजाले आफू सुदृढ रहेको महसुस गरेका थिए । विदेशमा पनि राजाको स्थिति बलियै मानिन्थ्यो । त्यस्तै, भारतमा इन्दिरा गान्धी एकदम बलियी थिइन् । पाकिस्तानको राष्ट्रपतिमा ‘जनताबाट निर्वाचित, इतिहासमा सबभन्दा लोकप्रिय’ जुल्फीकर अली भुट्टो थिए । अफगानिस्तानमा राजा हटेपछि दाउद खाँले राष्ट्रपति भएर शासन चलाइरहेका थिए । त्यहाँ पनि विदेशी शक्तिहरूले सहायताको खोलो बगाइरहेका थिए । श्रीलंकामा श्रीमती भण्डारानायके थिइन्, जसले पछि चुनाव हारिन् । पाकिस्तान र अफगानिस्तानको स्थिति पछि के भयो, स्पष्ट छ । यस क्षेत्रमा जो–जो शक्तिशाली देखिन्थे, एक–एक गर्दै या त चुनाव हारे या सत्ताबाट हटाइए या हत्या गरिए या फाँसीमा चढाइए । यिनै सन्दर्भलाई बीपीले गम्भीरताका साथ लिन सजग गराउनुभएको थियो ।
बीपीलाई स्वदेश फर्कन नदिन सुवर्णजीसमेत प्रयत्नरत हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘नेता जेल गएपछि छुटाउन ठूलो मूल्य चुकाउनुपर्छ ।’ त्यो गलत थिएन, किनभने सुवर्णजीले १९६८ को मेमा मेलमिलापकै नीति झल्किने वक्तव्य जारी गरेपछि मात्रै बीपी सहितका नेताहरू सुन्दरीजल जेलबाट छुट्नुभएको थियो । तर दस वर्षसम्म पनि राजाले अपेक्षित परिवर्तन महसुस गराउन सकेनन् । त्यसरी लामो समय निष्क्रियप्राय: रहनु पार्टीका लागि हितकर नहुने बोध सुवर्णजीलाई पनि भइरहेकै थियो । बीपी नेपाली कांग्रेसलाई जीवन्त राख्न र परिवर्तनको सम्भावनालाई निरन्तर बचाइराख्न सक्रिय राजनीतिका पक्षमा हुनुहुन्थ्यो । त्यसैले छिमेकी मित्रराष्ट्रहरूलाई सन्तुलनमा राख्दै प्रजातन्त्रको संघर्ष अघि बढाउन सक्छु भन्ने आँट बीपीमा थियो ।
बीपीले हामीलाई छाडेको ३७ वर्ष र भारत निर्वासनबाट फर्केको ४४ वर्ष भैसके पनि राष्ट्रिय मेलमिलापको नीतिको औचित्य झन् बढ्दै गएको छ । यो अझै छलफलको विषय बनिरहनुले यसको महत्ता पुष्टि गरिरहेकै छ । आखिर मेलमिलापको नीति के हो ? यसलाई सजिलै बुझ्न उहाँले स्वदेश फर्किंदा देशवासीका नाममा गर्नुभएको अपिल सहयोगी हुनसक्छ, ‘...हाम्रो देश अहिले राष्ट्रिय संकटमा छ । हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति थियो, आज यसमा एउटा नयाँ आयाम थपिएको छ, नेपाली कांग्रेसलाई दोहोरो जिम्मेवारी आइपरेको छ— देशको अस्तित्वसमेत रक्षा... ।’ त्यसैले राष्ट्रवादी शक्ति र प्रजातन्त्रवादी शक्तिहरूबीच राष्ट्रिय मेलमिलापका लागि उहाँले अपिल गर्नुभएको थियो । त्यसैलाई पञ्चहरूको उग्रपक्षले पनि विरोध गरेको थियो ।
भारत छाड्नुअघि ‘हिमेसिया टाइम्स’ पाक्षिकका सम्पादकसँगको अन्तर्वार्तामा बीपीको जवाफ उल्लेखनीय छ । ‘...म एक नयाँ परिस्थितिमा, नयाँ परिस्थिति अनुरूप, नयाँ राजनीतिक दृष्टिकोण उत्पन्न गर्ने उद्देश्यले (स्वदेश) फर्किंदै छु ।’ उहाँको ‘हामी हाम्रो सिद्धान्त, आदर्श र मूल्य–मान्यतामा सम्झौता गर्दैनौं, तर हाम्रो विचार अनुरूप लक्ष्यप्राप्तिको उपायका सम्बन्धमा विचार गर्न सक्छौं’ उक्तिबाट स्पष्ट हुन्छ, उहाँको स्वदेशफिर्ती विरोधीहरूले प्रचार गरे जस्तो राजासँगको आत्मसमर्पण थिएन । राष्ट्रमा संकट नआओस् भनेर राष्ट्रिय एकताका निम्ति उहाँको विवेकले ठहर गरेको निर्णय थियो यो ।
राष्ट्रिय मेलमिलापको राजनीतिक निर्णयको गहिराइ बुझ्न बीपी स्वदेश फर्किनुअघि दक्षिण एसियामा भएका दुई घटनालाई बिर्सनु हुँदैन । ती हुन्— बंगलादेशको उदय र सिक्किमको भारत विलय । सन् १९५० तिर तिब्बतमा चिनियाँ लालसेनाको प्रवेशपछि भारत र चीन दुवै आमने–सामने भए र परिस्थिति १९६२ को युद्धसम्म आइपुग्यो । तर त्योभन्दा जटिल स्थिति अमेरिका–सोभियत संघ द्वन्द्व र शीतयुद्धले जन्माएको अफगानिस्तानको थियो । यसबाट दक्षिण एसिया क्षेत्र प्रत्यक्ष प्रभावित हुँदै गर्दा नेपालमा समेत त्यसको असर पर्दै छ भन्ने बीपीको विश्लेषण थियो ।
स्वदेश फर्कंदा देशवासीका नाममा जारी अपिलमा उहाँले भन्नुभएको थियो, ‘प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ । मलाई लाग्छ, आज नेपालमा त्यो घडी आएको छ ।’ निर्दलीय व्यवस्थाको चरमोत्कर्षमा उहाँको यस्तो विश्लेषणलाई धेरैले हल्का ढंगले लिएका थिए । समय बित्दै जाँदा उहाँका भनाइ, तर्क र भविष्यवाणी बेजोड साबित भए, भइरहेका छन् । उहाँको व्यक्तित्व, तीक्ष्ण बौद्धिकता, राजनीतिक सोचलाई लिएर प्रो. यदुनाथ खनालले गर्नुभएको टिप्पणी सदैव मननीय छ, ‘उनी (बीपी) एकसाथ राजनीतिशास्त्री (पोलिटिकल साइन्टिस्ट), राजनेता (पोलिटिसियन) र नीतिद्रष्टा (स्टेट्सम्यान) थिए ।’
Source:ekantipur.com
All copyright reserved: ekantipur.com
All copyright reserved: ekantipur.com
Comments
Post a Comment